पृथ्वी राजमार्ग (कृष्णभीर खण्ड) मा यातायात सञ्चालन तथा पुनःनिर्माण लागि आवश्यक समन्वय तथा सहजीकरण गरिदिने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा मिति २०८३ साल भाद्र १० र १४ गते आएको बाढीका कारण यस बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७, धादिङ स्थित कृष्णभीर खण्डमा त्रिशुली नदीको तीव्र कटानका कारण ठूलो पहिरो गई राजमार्गमा मान्छेसमेत हिँडडुल गर्न नसकिने गरी देशकै मुख्य लाइफलाइनको रूपमा रहेको पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको व्यहोरा अवगत नै छ।
उक्त पहिरोका कारण संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न भू-भागसँग जोड्ने मुख्य सडक सञ्जाल विच्छेद भई पूर्ण रुपमा यातायात बन्द हुँदा यात्रु महानुभावहरूले अत्यन्तै सास्ती भोग्नुपरेको, अत्यावश्यक खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुको आपूर्ति, आपतकालिन स्वास्थ्य सेवा समेत ठप्प हुँदा सर्वसाधारणको दैनिक जनजीवन नराम्ररी प्रभावित भएको छ।
अतः उक्त संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा तत्काल प्रभावकारी ढंगले पुनःनिर्माण कार्य अगाडि बढाई यातायात सुचारु गर्न र पूर्ण रूपमा सडक पुनःनिर्माण नहुञ्जेलसम्मका लागि यथासम्भव उपयुक्त वैकल्पिक मार्गहरूबाट यातायात सञ्चालन गर्न गराउन सम्बन्धित निकायहरूसँग आवश्यक नीतिगत समन्वय, निर्देशन तथा उच्चस्तरीय सहजीकरण गरिदिनुहुन यसै पत्रमार्फत सादर अनुरोध गर्दछु ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Regarding the provision of necessary coordination and facilitation for traffic operations and reconstruction on the Prithvi Highway (Krishnabhir section). १५ भदौ, २०८३ JPG